टेलिभिजन प्रोग्राममा 'आउट र इन'को खेल भइरहन्छ । कुनै प्रोग्रामबाट कोही आउट हुने र त्यसको ठाउँमा अर्को इन हुने काम हुनु नौलो कुरा होइन । कान्तिपुर टेलिभिजनको डेली लाइभ सो 'कल कान्तिपुर'लाई प्रसिद्धिका रायमाझी, प्रिति सिटौला, माल्विका सुब्बा पछि भिडियो जक्की मानवी ढकालले पनि बाई गरेकी छन् । त्यहाँबाट उनी एनटिभी टु मेट्रोको लागि तिकिझ्याले प्रस्तुत गरिरहेको डेली लाइभ सो 'प्ले इट अन'मा पुगेकी छन् । यस्तो इन र आउटको खेलमा भिडियो जक्की सलोनी राजभण्डारीले पनि 'प्ले इट अन'लाई टाटा गरेकी छन् । निशा अधिकारी पनि केही महिनाअघि 'प्ले इट अन'बाट विदा भएकी थिइन् । सिनेमाहरुमा काम गर्न फुर्सद नभएकोले त्यो प्रोग्राम छाड्नु परेको उनको भनाइ थियो । अहिले 'प्ले इट अन'मा मानवीसँग कान्तिपुरको 'कलेज'की कलाकार आरती आचार्य पनि आउन थालेकी छन् । फिमेल भिजेहरुको 'आउट र इन' भइरहेपनि मेल भिजेहरुको 'आउट र इन'को खेल भने भएको पाइएको छैन । 'कल कान्तिपुर' सुरजसिंह ठकुरीको सिग्नेचर प्रोग्राम भइसकेको छ भने 'प्ले इट अन'मा पनि सुमित सिग्देल र विनय श्रेष्ठ पालैपालो देखिने क्रम जारी छ ।
|